Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

शमूएलको पहिलो पुस्तक 29

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1पलिश्तीहरूले आफ्ना सबै सेनाहरूलाई अपेकमा भेला गराए। अनि इस्राएलीहरूले चाहिँ यिजरेल सहरको पानीको मूल भएको ठाउँमा छाउनी हाले।
2जब पलिश्ती शासकहरू आफ्ना सय र हजारका दलहरूसँग अगाडि बढ्दैथिए, तब दावीद र तिनका मानिसहरूचाहिँ आकीशसँग पछिल्तिरको पङ्‌क्तिमा हिँड्दैथिए।
3पलिश्तीहरूका सेनापतिहरूले आकीशलाई सोधे, यी हिब्रूहरूले यहाँ के गर्दैछन्? आकीशले जवाफ दिए, “के यिनी दावीद होइनन् र? जो इस्राएलका राजा शाऊलका अधिकृत थिए। यिनी मसँग एक वर्षभन्दा बढी समयदेखि छन्; अनि यिनले शाऊललाई छोडेदेखि अहिलेसम्म मैले यिनमा कुनै दोष भेट्टाएको छैनँ।”
4तर पलिश्ती सेनापतिहरू आकीशसँग रिसाएर भने, “यस मानिसलाई फर्काइदिनुहोस्, ताकि तपाईंले यसका निम्ति ठहराउनुभएको ठाउँमा फर्केर जाओस्। यो हामीसँग लडाइँमा नजाओस्, नत्रता लडाइँको समयमा यो हाम्रो विरुद्धमा जाला। किनकि यसले हाम्रा मानिसहरूका शिर आफ्नो मालिककहाँ लिएर जाला, र यसले आफ्नो मालिकको निगाह फेरि प्राप्‍त गर्ला। योभन्दा उत्तम उपाय तिनका निम्ति के हुन सक्ला र?
5के तिनीहरूले आफ्ना नाचमा त्यही दावीदकै बारेमा यसो भन्दै गाएका थिएनन् र? “शाऊलले हजारौँ-हजारलाई मारे, तर दावीदले चाहिँ लाखौँ-लाखलाई मारे।”
6यसकारण आकीशले दावीदलाई बोलाएर तिनलाई भने, “जीवित याहवेहलाई साक्षी राखेर भन्दछु, तपाईं मेरो भरोसायोग्य हुनुहुन्छ। अनि मेरा सेनासँग तपाईंले साथ दिनुभयो भने म सन्तुष्‍ट हुनेछु। तपाईं मकहाँ आउनुभएको दिनदेखि अहिलेसम्म मैले तपाईंमा कुनै दोष भेट्टाएको छैनँ। तर पलिश्ती शासकहरू तपाईंलाई लैजान सहमत छैनन्।
7अब फर्केर शान्तिसँग जानुहोस्; पलिश्ती शासकहरूलाई मन नपर्ने कुनै पनि काम नगर्नुहोस्।”
8दावीदले आकीशलाई सोधे, “तर मैले के गरेको छु र? म तपाईंकहाँ आएको दिनदेखि अहिलेसम्म तपाईंले आफ्नो सेवकमा के दोष भेट्टाउनुभएको छ? मैले मेरा मालिक राजाका शत्रुहरूको विरुद्धमा लडाइँ गर्न किन जान नपाऊँ?”
9तब आकीशले जवाफ दिए, “म जान्दछु, तपाईं मेरो दृष्‍टिमा परमेश्‍वरको दूतझैँ मनपर्दो हुनुहुन्छ। तरै पनि पलिश्ती सेनापतिहरूले भनेका छन्, ‘यो हामीसँग लडाइँमा जानेछैन।’
10अब तपाईंसँग आउने तपाईंका मालिकका सेवकहरूसँग बिहानै उठ्नुहोस् र बिहान उज्यालो हुनसाथ गइहाल्नुहोस्।”
11यसकारण दावीद र तिनका मानिसहरू पलिश्तीहरूको देशमा फर्किजानलाई बिहानै उठे। अनि पलिश्तीहरूचाहिँ यिजरेलतिर गए।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.