Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

शमूएलको पहिलो पुस्तक 10

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1तब शमूएलले एउटा ढुङ्ग्रोमा जैतुनको तेल लिएर त्यो तेल शाऊलको शिरमाथि खन्याइदिए, र तिनलाई चुम्बन गरेर भने, “याहवेहले तिमीलाई उहाँको उत्तराधिकारमाथि अगुवा अभिषेक गर्नुभएको छ।
2जब तिमी आज मसँग बिदा भएर जान्छौ, तब तिमीले बेन्यामीन कुलको सिमानाभित्र सेल्साहमा भएको राहेलको चिहानको नजिकै दुई जना मानिसहरूलाई भेट्टाउनेछौ। तब तिनीहरूले तिमीलाई भन्‍नेछन्, ‘तपाईंले खोज्न निस्कनुभएका ती गधाहरू भेट्टाइएका छन्। तर तपाईंका बुबा तिनीहरूको विषयमा होइन, तपाईंको लागि चिन्तित हुनुभएको छ। उहाँले सोध्दै हुनुहुन्छ, “म आफ्नो छोराको निम्ति के गरूँ?” ’
3“तब तिमी त्यहाँबाट तबोरको ठूलो रूखमा नपुगेसम्म अगि बढिरहनू। त्यहाँ बेथेलमा परमेश्‍वरको आराधना गर्न गइरहेका तीन जना मानिसहरूले तिमीलाई भेट्नेछन्। एक जनाले बाख्राका तीन वटा कलिला पाठाहरू, र अर्कोले तीन वटा रोटीहरू, र अर्कोले चाहिँ एक मसक दाखमद्य बोकेका हुनेछन्।
4तिनीहरूले तिमीलाई अभिवादन गर्नेछन् र दुई वटा रोटी दिनेछन्। तिमीले तिनीहरूबाट ती रोटीहरू स्वीकार गर्नू।
5“त्यसपछि पलिश्तीहरूको चौकी भएको परमेश्‍वरको गेबामा तिमी जानू। जब सहर पुग्नेछौ, तब तिमीले सारङ्गी, खैँजडी, बाँसुरी र वीणा बजाउनेहरूका पछि अगमवाणी गर्दै अल्गा देवस्थानबाट आइरहेका अगमवक्ताहरूको एक दललाई भेट्टाउनेछौ।
6अनि याहवेहको आत्मा तिमीमाथि शक्तिशाली रूपमा आउनुहुनेछ, र तिमीले तिनीहरूसँगै अगमवाणी गर्नेछौ। अनि तिमी बदलिएर भिन्दै मानिस हुनेछौ।
7जब यी आचम्मका चिन्हहरू पूरा हुनेछन्, तब तिमीले जे चाहन्छौ, त्यही गर्नू; किनकि परमेश्‍वर तिमीसँग हुनुहुन्छ।
8“अनि तिमीहरू मेरो अगि गिलगालमा ओर्लेर जाओ। म निश्‍चय नै होमबलि र मेलबलि चढाउन तिमीकहाँ आउनेछु, तर म तिमीकहाँ आएर तिमीले के गर्नुपर्छ भनी भन्‍न आउनुभन्दा अगि नै तिमीले मलाई सात दिनसम्म पर्खिबस्‍नू।” शाऊल राजा भएका
9जब शाऊल शमूएलबाट बिदा लिनलाई फर्के, तब परमेश्‍वरले तिनको हृदय परिवर्तन गरिदिनुभयो। अनि त्यस दिन शामूएलले भनेका सबै यी अलौकिक चिन्हहरू पूरा भए।
10जब शाऊल र तिनको सेवक गेबामा आइपुगे, तब अगमवक्ताहरूको एक दलले तिनलाई भेटे। परमेश्‍वरको आत्मा शाऊलमाथि शक्तिशाली रूपमा आउनुभयो। अनि उनी पनि तिनीहरूसँगै अगमवाणी बोल्न थाले।
11जब शाऊललाई पहिल्यैबाट चिन्‍नेहरूले तिनलाई अगमवक्ताहरूसँग अगमवाणी गरिरहेका देखे, तब तिनीहरूले एक-आपसमा भने, “कीशको छोरोलाई यो के भएको हो? के शाऊल पनि अगमवक्ताहरू मध्येका एक हुन्?”
12त्यहाँ बस्‍ने एक जना मानिसले जवाफ दिए, “अनि तिनीहरूका पिता को हुन्?” यसकारण “के शाऊल अगमवक्ताहरूमध्ये एक हुन्?” भन्‍ने उखान सुरु भयो।
13शाऊलले अगमवाणी गर्न छोडेपछि तिनी अल्गा देवस्थानमा गए।
14शाऊलका काकाले तिनी र तिनका सेवकलाई सोधे, “तिमीहरू कहाँ गएका थियौ?” तिनले भने, “हामी गधाहरू खोज्न गएका थियौँ। तर ती नभेट्टाएपछि हामी शमूएलकहाँ गयौँ।”
15तब शाऊलका काकाले भने, “शमूएलले तिमीलाई के भने सो मलाई भन।”
16अनि शाऊलले जवाफ दिए, “तिनले गधा फेला परेका छन् भनेर हामीलाई आश्‍वासन दिलाए।” तर तिनले राजाको बारेमा शमूएलले भनेका कुरा काकालाई बताएनन्।
17शमूएलले इस्राएलका मानिसहरूलाई मिस्पामा याहवेहकहाँ भेला हुनलाई बोलाए।
18अनि तिनीहरूलाई भने, “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ; ‘मैले इस्राएललाई इजिप्टबाट निकालेर ल्याएँ। अनि तिमीहरूलाई सताउने इजिप्टको शक्ति र सबै राज्यहरूबाट मैले छुटाएर ल्याएँ।’
19तर अहिले तिमीहरूले सबै विपत्ति र प्रकोपहरूबाट तिमीहरूलाई बचाउनुहुने परमेश्‍वरलाई तिरस्कार गरेका छौ। अनि तिमीहरूले भनेका छौ, ‘अहँ, हुँदैन, हामीमाथि एउटा राजा नै नियुक्त गरिदिनुहोस्।’ यसकारण अब तिमीहरूले आफ्ना कुल र वंशअनुसार आफूलाई याहवेहको सामु उपस्थित गराओ।”
20जब शमूएलले इस्राएलका सबै कुलहरूलाई उपस्थित गराए, तब चिट्ठाद्वारा बेन्यामीनको कुल चुनियो।
21तब तिनले बेन्यामीनको कुललाई वंश-वंश गरी अगि ल्याए, र मत्रीको वंश चुनियो। आखिरमा कीशका छोरा शाऊल चुनिए। तर जब तिनीहरूले तिनलाई खोजे, तब तिनलाई भेट्टाएनन्।
22यसकारण तिनीहरूले फेरि याहवेहलाई सोधे, “के ती मानिस यहाँ आइसके?” अनि याहवेहले भन्‍नुभयो, “हेर, त्यो सामानहरूका बीचमा लुकेको छ।”
23तब तिनीहरू दौडेर गए, र तिनलाई बाहिर निकाले। अनि जब शाऊल मानिसहरूको बीचमा उभिए, तब तिनी अरू सबै मानिसहरूभन्दा अग्ला थिए।
24अनि शमूएलले सबै मानिसहरूलाई भने, “के तिमीहरूले याहवेहले चुन्‍नुभएको मानिसलाई देख्यौ? सबै मानिसहरूको बीचमा तिनीजस्तै अरू कोही छैन।” मानिसहरूले कराएर भने, “हाम्रा राजा अमर रहून्!”
25तब शमूएलले राजाका अधिकार र कर्तव्यहरूको विषयमा मानिसहरूलाई बताइदिए। तिनले ती एउटा चर्मपत्रमा लेखेर याहवेहको सामु राखिदिए। त्यसपछि शमूएलले मानिसहरूलाई तिनीहरूका आ-आफ्ना घरमा पठाइदिए।
26शाऊल पनि आफ्नो घर गेबामा ती वीर मानिसहरूसँग गए, जसको हृदय परमेश्‍वरले छुनुभएको थियो।
27तर केही खराब मानिसहरूले, “यो व्यक्तिले हामीलाई कसरी बचाउन सक्छ र?” भनेर शाऊललाई अनादर गरे। अनि तिनलाई केही उपहार पनि चढाएनन्। तर शाऊल मौन रहे।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.