Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

राजाहरूको पहिलो पुस्तक 16

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1तब याहवेहको वचन हनानीका छोरा येहूद्वारा बाशाको विरुद्धमा आयो:
2“मैले तँलाई धुलोबाट माथि उठाएर मेरो जाति इस्राएलमाथि शासक नियुक्त गरेँ। तर यारोबामका मार्गहरूमा तँ हिँडिस्; र मेरा जाति इस्राएललाई पाप गर्न लगाइस्। तिनीहरूका पापले गर्दा मलाई रिस उठेको छ।
3यसकारण म बाशा र त्यसको घरानालाई नाश पार्नेछु। म तेरो घरानालाई नबातका छोरा यारोबामको घरानालाई जस्तै मेटिदिनेछु।
4बाशाका घरानाकाहरू, सहरमा मर्नेहरूलाई कुकुरले खानेछन्, र गाउँमा मर्नेहरूलाई चाहिँ आकाशका चराहरूले खानेछन्।”
5बाशाका शासनका अरू घटनाहरू, तिनले गरेका कार्य र तिनका उपलब्धीहरूका विषयमा इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
6बाशा आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे, र तिर्सामा गाडिए; अनि तिनीपछि तिनका छोरा एलाह राजा भए।
7यसबाहेक याहवेहको वचन हनानीका छोरा अगमवक्ता येहूद्वारा बाशा र तिनका घरानाको विरुद्धमा आयो। यसो हुनुको कारणचाहिँ बाशाले पनि यारोबामको घरानाले जस्तै याहवेहको दृष्‍टिमा जे दुष्‍टता थियो त्यही गरेका थिए, र तिनले यारोबामको परिवारलाई पनि नाश गरे। यसरी बाशानले पाप गरेर याहवेहलाई रिस उठाए। इस्राएलका राजा एला
8यहूदाका राजा आसाको छब्बीसौँ वर्षमा बाशाका छोरा एलाह इस्राएलका राजा भए; र तिनले तिर्सामा दुई वर्ष राज्य गरे।
9तिनका सेवक जिम्रीले, जो आधा राजकीय रथहरूका सेनापति थिए, तिनको विरुद्धमा षड्यन्त्र रचे। त्यस बेला एलाचाहिँ तिर्सामा आफ्नो दरबारका प्रशासक अर्साको घरमा मद्यपान गरिरहेका थिए।
10यहूदाका राजा आसाको सत्ताइसौँ वर्षमा जिम्रीले दरबारभित्र पसेर तिनलाई प्रहार गरेर मारे। तब जिम्री नै तिनीपछि राजा भए।
11जिम्रीले सिंहासनमा बसेर शासन सुरु गर्नसाथ बाशाको सम्पूर्ण घरानालाई मारिदिए। चाहे आफन्त होस् वा मित्र, तिनले कुनै पुरुषलाई पनि जीवित राखेनन्।
12यसरी याहवेहले आफ्नो सेवक अगमवक्ता येहूद्वारा बोल्नुभएको वचनअनुसार जिम्रीले बाशाको सम्पूर्ण परिवारलाई नाश गरे।
13बाशा र तिनका छोरा एलाहले गरेका सम्पूर्ण पापहरू र इस्राएललाई पनि पाप गर्न लगाएको कारण र तिनीहरूका व्यर्थका मूर्तिहरूले याहवेह इस्राएलका परमेश्‍वरलाई रिस उठाएको कारण यो सबै भएको थियो।
14एलाहको शासनका अरू घटनाहरू, र तिनले गरेका सबै कामहरूको विषयमा चाहिँ इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्। इस्राएलका राजा जिम्री
15यहूदाका राजा आसाको सत्ताइसौँ वर्षमा जिम्रीले तिर्सामा सात दिनसम्म राज्य गरे। त्यस बेला इस्राएली फौजले चाहिँ एउटा पलिश्ती सहर गिब्बतोनको छेउमा छाउनी हालेका थिए।
16जब जिम्रीले राजाको विरुद्धमा षड्यन्त्र गरेर तिनको हत्या गरेको कुरा छाउनीमा भएका इस्राएलीहरूले सुने, तब तिनीहरूले त्यसै दिन फौजका सेनापति ओम्रीलाई इस्राएलमाथि राजा घोषणा गरे।
17तब ओम्री र तिनीसित भएका सारा इस्राएलीहरू गिब्बतोनबाट निस्केर गए; र तिर्सालाई घेरे।
18जब जिम्रीले सहर आफ्नो कब्जाबाट गइसकेको देखे, तब तिनी दरबारको किल्‍लाभित्र पसे; र राज दरबारको चारैतिर आगो लगाइदिए। यसरी तिनी आफैँ पनि जलेर मरे।
19किनकि तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरेर पाप गरे, र यारोबामका मार्गहरूमा हिँडे; अनि तिनले त्यही पाप गरे, जुन यारोबामले इस्राएललाई गर्न लगाएका थिए।
20जिम्रीको शासनका अरू घटनाहरू र तिनले गरेका विद्रोहको विषयमा चाहिँ इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्। इस्राएलका राजा ओम्री
21तब इस्राएलका मानिसहरू दुई दलमा विभाजित भए। आधाले गीनतका छोरा तिब्नीलाई राजा बनाउन चाहन्थे; र बाँकी आधाले चाहिँ ओम्रीलाई साथ दिए।
22तर ओम्रीका पछि लाग्नेहरूले गीनतका छोरा तिब्नीका पछि लाग्नेहरूलाई परास्त गरे। यसकारण तिब्नी मारिए, र ओम्री राजा भए।
23यहूदाका राजा आसाको एकतीसौँ वर्षमा ओम्री इस्राएलमा राजा भए। तिनले बाह्र वर्ष राज्य गरे; छ वर्षचाहिँ तिनले तिर्सामा राज्य गरे।
24तिनले शेमेरबाट दुई टालेन्ट चाँदीमा सामरियाको डाँडा किने। त्यस डाँडामा एउटा सहर बनाए र त्यसलाई डाँडाका पहिलेका मालिक शेमेरको नामबाट सामरिया नाम राखे।
25तर ओम्रीले याहवेहको दृष्‍टिमा दुष्‍टता गरेर आफूभन्दा अगिका राजाहरूले भन्दा अझ बढी पाप गरे।
26तिनी नबातका छोरा यारोबाम र तिनका सबै मार्गहरूमा हिँडे; तिनले त्यही पाप गरे, जुन यारोबामले इस्राएललाई गर्न लगाएका थिए। यसरी तिनीहरूले आफ्ना व्यर्थका मूर्तिहरूद्वारा याहवेह इस्राएलका परमेश्‍वरलाई रिस उठाए।
27ओम्रीको शासनका अरू घटनाहरू, तिनले गरेका कार्य, र तिनका उपलब्धीहरूका विषयमा चाहिँ इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
28ओम्री आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे; र सामरियामा गाडिए। तिनीपछि तिनका छोरा आहाब राजा भए। आहाब इस्राएलका राजा भएका
29यहूदाका राजा आसाको अठतीसौँ वर्षमा ओम्रीका छोरा आहाब इस्राएलका राजा भए; र तिनले सामरियामा इस्राएलमाथि बाइस वर्ष राज्य गरे।
30ओम्रीका छोरा आहाबले याहवेहको दृष्‍टिमा आफ्ना अगिका सबै राजाहरूले भन्दा अझ बढी दुष्‍टता गरे।
31तिनले नबातका छोरा यारोबामका पापहरूमा हिँड्न मामूली कुराजस्तै मात्र होइन, तर तिनले सीदोनीहरूका राजा एतबालकी छोरी ईजेबेललाई पनि विवाह गरे, अनि बाल-देवताको सेवा गरेर त्यसलाई पुजे।
32तिनले सामरियामा बालको मन्दिर बनाएर त्यसका निम्ति एउटा वेदी बनाए।
33आहाबले अशेराको खाँबो पनि खडा गरे। यसरी आफूअगिका इस्राएलका राजाहरूले भन्दा बढी याहवेह इस्राएलका परमेश्‍वरलाई रिस उठाउने कामहरू गरे।
34आहाबको समयमा बेथेलका हीएलले यरीहोलाई पुनर्निर्माण गरे। तिनले त्यसको जग बसाल्दा तिनको जेठा छोरा अबीरामको मृत्यु भयो। अनि त्यसका मूलढोकाहरू बनाउँदा तिनको कान्छा छोरा सगूबको मृत्यु भयो। यो सबै याहवेहले नूनका छोरा यहोशूलाई भन्‍नुभएअनुसार नै हुनगयो।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.