Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

राजाहरूको पहिलो पुस्तक 12

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1सारा इस्राएलले तिनलाई शेकेममा राजा बनाउन गएकाले रहबाम त्यहाँ गए।
2जब नबातका छोरा यारोबामले यो कुरा सुने, (तिनी राजा सोलोमनदेखि भागेर गएदेखि इजिप्टमा नै थिए), तब तिनी इजिप्टबाट फर्किए।
3यसकारण तिनीहरूले यारोबामलाई बोलाउन पठाए। अनि तिनी र इस्राएलको समुदाय रहबामकहाँ गएर तिनलाई भने:
4“तपाईंका पिताले हामीमाथि गह्रौँ जुवा राखिदिनुभएको थियो। अब उहाँले हामीमाथि लगाइदिनुभएको त्यस कठोर परिश्रम र गह्रौँ जुवालाई हलुङ्गो पारिदिनुहोस्; र हामी तपाईंको सेवा गर्नेछौँ।”
5रहबामले जवाफ दिए, “मलाई सोच्नको लागि तीन दिन दिनुहोस्। त्यसपछि मकहाँ फर्केर आउनुहोस्।” यसकारण मानिसहरू गए।
6तब राजा रहबामले तिनका पिता सोलोमन जीवित छँदा, तिनका सेवा गर्ने प्रधानहरूसित यसो भनेर सल्‍लाह मागे, “यी मानिसहरूलाई म के जवाफ दिऊँ? तपाईंहरूले मलाई के सल्‍लाह दिनुहुन्छ?”
7तिनीहरूले उत्तर दिए, “यदि आज तपाईं यी मानिसहरूका सेवक बन्‍नुभयो र तिनीहरूलाई मनपर्दो जवाफ दिनुभयो भने तिनीहरू सधैँभरि नै तपाईंका सेवक हुनेछन्।”
8तर रहबामले प्रधानहरूले दिएका सल्‍लाह इन्कार गरे; अनि तिनीसितै हुर्केका र तिनकै सेवा गरिरहेका जवान मानिसहरूसित सल्‍लाह लिए।
9तिनले तिनीहरूलाई सोधे, “तिमीहरूले के सल्‍लाह दिन्छौ? ‘तपाईंका पिताले हामीमाथि राखिदिनुभएको बोझ अलिक हल्का पारिदिनुहोस्’ भन्‍ने यी मानिसहरूलाई कसरी जवाफ दिऊँ?”
10तिनीसितै हुर्केका ती जवान मानिसहरूले जवाफ दिए, “तपाईंलाई ‘तपाईंका पिताले हामीमाथि गह्रौँ जुवा राखिदिनुभयो; तर हाम्रा जुवा हल्का पारिदिनुहोस्’ भन्‍ने यी मानिसहरूलाई यसो भन्‍नुहोस्, ‘मेरो कान्छी औँला मेरा पिताको कम्मरभन्दा झन् मोटो छ।
11मेरा पिताले तिमीहरूमाथि गह्रौँ जुवा राखिदिनुभयो; म त्यसलाई अझ गह्रौँ पारिदिनेछु। मेरा पिताले तिमीहरूलाई कोर्राले ताडना दिनुभयो, तर मचाहिँ तिमीहरूलाई बिच्छीहरूले डस्‍न लगाउनेछु।’
12“तीन दिनमा मकहाँ फर्केर आउनुहोस्” भनी राजाले भनेझैँ, तीन दिनपछि यारोबाम र सबै मानिसहरू रहबामकहाँ आए।
13राजाले ती मानिसहरूलाई कठोरतापूर्वक जवाफ दिए। ती प्रधानहरूले तिनलाई दिएको सल्‍लाहलाई इन्कार गरे।
14तिनले जवान मानिसहरूको सल्‍लाह सुनेर यसो भने, “मेरा पिताले तपाईंहरूमाथि गह्रौँ जुवा राखिदिनुभयो; म त्यसलाई झन् गह्रौँ पारिदिनेछु। मेरा पिताले तपाईंहरूलाई कोर्राले ताडना दिनुभयो; तर मचाहिँ तपाईंहरूलाई बिच्छीहरूले डस्‍न लाउनेछु।”
15यसरी राजाले मानिसहरूका कुरा सुनेनन्; किनकि याहवेहले शीलोका अहीयाहद्वारा नबातका छोरा यारोबामलाई भन्‍नुभएको वचन यसरी नै पूरा हुनुपर्थ्यो।
16जब सारा इस्राएलले राजाले तिनीहरूका कुरा नसुनेका देखे; तिनीहरूले राजालाई जवाफ दिए: “दावीदमा हाम्रो के हिस्सा छ, यिशैका छोरामा के भाग छ? हे इस्राएल, आफ्ना पालहरूमा जाओ! हे दावीद, तिमी आफ्नै घर सम्हाल!” यसरी इस्राएलीहरू आ-आफ्ना घरतिर गए।
17तर यहूदाका सहरहरूमै बसिरहेका इस्राएलीहरूमाथि रहबामले नै शासन गरे।
18राजा रहबामले ज्यालाविना काममा लगाउनेका जिम्मावाल अदोनीरामलाई पठाए; तर सारा इस्राएलले तिनलाई ढुङ्गाले हानेर मारे। तर राजा रहबाम आफ्नो रथमा चढेर यरूशलेममा भागेर जान सफल भए।
19यसकारण इस्राएल आजको दिनसम्मै दावीदको घरानाको विरुद्धमा छ।
20जब सारा इस्राएलीहरूले यारोबाम फर्किआएको कुरा सुने, तब तिनीहरूले खबर पठाएर तिनलाई सभामा बोलाए। अनि तिनलाई सारा इस्राएलमाथि राजा तुल्याए; र यहूदाको कुल मात्र दावीदको घरानाप्रति विश्‍वासयोग्य भइरहे।
21जब रहबाम यरूशलेममा आइपुगे, तब आफ्नो राज्य फिर्ता ल्याउने उद्देश्यले इस्राएलको विरुद्धमा लडाइँ गर्नलाई सारा यहूदा र बेन्यामीनका घरानाबाट एक लाख असी हजार लडाकु मानिसहरू बटुले।
22तर परमेश्‍वरको यो वचन उहाँको जन शमायाहकहाँ आयो:
23“यहूदाका राजा सोलोमनका छोरा रहबाम, यहूदा र बेन्यामीनका सम्पूर्ण घरानालाई अनि बाँकी रहेका मानिसहरूलाई यसो भन्:
24याहवेह यसो भन्‍नुहुन्छ, ‘आफ्ना दाजुभाइ इस्राएलीहरूको विरुद्धमा लडाइँ गर्न नजानू। तिमीहरू प्रत्येक आ-आफ्ना घरमा फर्केर जाओ; किनकि यो कुरा मैले नै गरेको हुँ।’ ” यसकारण तिनीहरूले याहवेहको वचन माने; अनि याहवेहले आज्ञा गर्नुभएझैँ तिनीहरू फेरि आ-आफ्ना घर फर्के। बेथेल र दानमा सुनका बाछाहरू
25तब यारोबामले एफ्राइमको पहाडी देशमा भएको शेकेमलाई सुदृढ पारे र त्यहीँ नै बसोबास गरे। त्यहाँबाट गएर तिनले पनीएल सहर निर्माण गरे।
26यारोबामले यसरी विचार गरे, “यो राज्य अब दावीदको घरानाकहाँ नै फर्किजानेछ।
27यी मानिसहरू बलिदान चढाउन यरूशलेममा याहवेहको मन्दिरमा गए भने यिनीहरूले आफ्नो राजभक्ति यिनीहरूका मालिक यहूदाका राजा रहबामलाई फेरि दिनेछन्। यिनीहरूले मलाई मारेर राजा रहबामतिर फर्कनेछन्।”
28राजाले सरसल्‍लाह लिइसकेपछि, तिनले सुनका दुई वटा बाछाहरू बनाए। तब तिनले मानिसहरूलाई भने, “यरूशलेममा जान तिमीहरूलाई अति गाह्रो पर्छ। हे इस्राएल हो, तिमीहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने देवी-देवताहरू यहाँ छन्।”
29तिनले एउटालाई बेथेलमा र अर्कोलाई दानमा खडा गरे।
30योचाहिँ पाप भयो; मानिसहरू दानमा भएको बाछालाई पुज्न त्यति टाढासम्म पनि गए।
31यारोबामले अग्ला ठाउँहरूमा देवस्थानहरू बनाए। सबै किसिमका मानिसहरूबाट पुजारीहरू नियुक्त गरे, जो लेवी कुलका थिएनन्।
32तिनले यहूदामा मनाइने चाडजस्तै बेथेलमा पनि आठौँ महिनाको पन्ध्रौँ दिनमा एउटा चाड स्थापना गरे। अनि वेदीमा बलिदानहरू चढाए। यसरी तिनले बेथेलमा आफूले बनाएका बाछाहरूका निम्ति बलिदान चढाए। बेथेलमा आफूले बनाएका अग्ला देवस्थानहरूमा तिनले पुजारीहरू पनि नियुक्त गरे।
33आठौँ महिनाको पन्ध्रौँ दिनमा आफूले रोजेको महिनामा, तिनले बेथेलमा आफूले बनाएको वेदीमा बलिदानहरू चढाए। यसरी तिनले इस्राएलीहरूका निम्ति त्यो चाड स्थापना गरे, र भेटीहरू चढाउन वेदीमा गए।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.